कांग्रेसले सबै क्षेत्रका उम्मेदवार टुंगो लगायो

१६ कात्तिक,काठमाडौं/  नेपाली कांग्रसले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले मंसिर २१ गते निर्वाचन हुने प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको हो। यी क्षेत्रमा आजै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। बुधबारदेखि बसेको बैठकले रातभर छलफल गरी बिहीबार बिहान मात्रै उम्मेदवारहरुको नाममा अन्तिम सहमति जुटाएको छ।

बैठकले केही स्थानमा राप्रपा र राप्रपा नेपालका लागि सिट छाडेको छ। कांग्रेसले ५ वटा निर्वाचन क्षेत्र राप्रपा र राप्रपा प्रजातान्त्रिकका लागि छोडेर अन्यमा उम्मेदवारी दिने भएको छ। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १  र काठमाडौं क्षेत्र नम्बर ७ तथा पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवन क्षेत्र नम्बर- ३ र रुपन्देही क्षेत्र नम्बर ३ छाडेको छ।

ती क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिई राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सहयोग गर्ने निर्णय गरेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले जानकारी दिए।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ– १, महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी– १, नेता प्रकाशमान सिंह काठमाडौं– १, कृष्णप्रसाद सिटौला झापा– ३ र विमलेन्द्र निधीले धनुषा– ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। अन्तिम समयमा आएर कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुर– २ बाट उम्मेदवार बनाएको छ। सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले निकट युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत उम्मेदवार बनेका छन्। पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ।