बर्षाका कारण आएको बाढीमा परि बाँकेमा ४ जनाको मृत्यु

१८ असार,नेपालगञ्ज/ अविरल बर्षाका कारण आएको बाढीमा परि बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेक बहादुर तामाङ्का अनुसार, मृत्यु हुनेमा बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ३ निवासी ६५ बर्षिय तुलाराम बुढा, बैजनाथ ५ निवासी ३५ बर्षिय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका वडा नम्बर ४ गौवागाउँ निवासी ४ बर्षिय बालक रन्जित पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ निवासी ४ बर्षिया रिमा कुमारी यादव रहेका छन् । सुनारलाई स्थानीय ज्वालीपुर नाला र बुढालाई जेठी नालाले बगाएको थियो ।

यसैगरी कोहलपुर स्थित गौवागाउँ निवासी बालक रन्जितको घर नजिकको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट चिप्लिएर नालामा लडेका बालक मृत अवस्थामा फेला परेका थिए । डुडुवाकी रिमाको घर नजिकैको पानीमा डुबेर मृत्यु भएको हो । मृतक चारै जनाको शव भेटिसकेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ । बाढी पसेर केही घरहरु समेत भत्किएका छन् । डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीलाई खटाइएको एसपी तामाङले बताए ।

नेपालगञ्जको मुख्य सडक सहित उपमहानगरभित्रका दर्जनौ घर डुबेका छन् । न्युरोड, सेतु चोक, घरबारी टोल, बेलासपुर लगायत स्थान डुबानमा परेका हुन् । न्युरोडका स्थानीय बासिन्दा घनश्याम थापाले ५० वटा भन्दा बढी पसल डुबेको बताए । पानी बग्ने निकास पनि नहुँदा पसल डुबानमा  परेका हुन् । उप-महानगरको डुबान प्रभावित स्थानमा दिनभर डोजर र सुरक्षाकर्मी परिचालन गरेर पानीको निकास खोलिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोलमा रहेका पसल तथा होटलभित्र एक फिट भन्दा बढी पानी पसेको छ । नेपालगन्ज उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर डुबानमा परेको  छ ।

यस्तै नरैनापुरको कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन् ।