ज्येष्ठ नागरिकको क्षमता अभिवृद्दि कार्यक्रम

३१ जेष्ठ, नेपालगंज । प्रदेश ५ सरकारले स्थानीयतहको समन्वयमा मातहत जिल्लाका ज्येष्ठ नागरिकको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा, नेतृत्व विकास, भौतिक सुविधा सामग्री सहयोग, बाख्रा र बङ्गुरपालन तथा अन्य सीपमूलक तालीम उपलब्ध गराउँदै आएको छ ।

सो कार्यक्रमअनुसार बाँकेको बैजनाथ गाउँपालिका—६ र कोहलपुर नगरपालिकामा सीप विकास तथा सचेतनामूलक तालीम आयोजना गरिएको वडाध्यक्ष भदबहादुर बस्नेतले बताउनुभयो । स्थानीय तहको सहकार्यमा समाज सुधार संस्थाले आजदेखि सञ्चालन गरेको दुईदिने तालीममा ८४ जना ज्येष्ठ नागरिकलाई समेटिएको छ । तालीम शुभारम्भ समारोहमा गाउँकार्यपालिका सदस्य लक्ष्मी थारू, पुतली हमाल, समाज सुधार संस्थाका उपाध्यक्ष बबरजङ्ग शाहीलगायतले बोल्नुभएको थियो ।

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यसाथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट लगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । चार वर्षको अवधिमा नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको जनाउँदै नगरप्रमुख राणाले विकासमा जनप्रतिनीधि, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहाद्रपूर्ण रहेको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज–४ स्थित साढे चार बिघा क्षेत्रफलमा अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज–२ न्यूरोडस्थित आठ कट्ठा क्षेत्रफलमा अत्याधुनिक बहुउद्देश्यीय साततले भवन तथा नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद मावि परिसरमा महिला कलेजका लागि भवन निर्माणलगायत आधा दर्जनभन्दा बढी योजना मुख्य प्राथमिकतामा रहेको जनाएको छ । उपमहानगरपालिकाले महिला कलेजका लागि रु आठ करोड बजेट विनियोजन गर्नाका साथै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी काम अगाडि बढाएको छ ।

मुस्लिम, मधेशी र अल्पसङ्ख्यक समुदायका छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन महिला कलेज स्थापना गर्न लागेको छ । यसैगरी भूमिगत पार्किङसहितको सुविधा सम्पन्न शपिङ्ग क्म्प्लेक्स भवन निर्माणका लागि डिपिआर तयार भएको र अब निर्माण प्रक्रिया पनि चाँडै शुरु गरिने जनाइएको छ । उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई पनि उच्च प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरेको ल्याण्डफिल्ड साइट सञ्चालनमा आइसकेको छ ।

नेपालगञ्जमा दैनिक २५ देखि ३० टनसम्म विसर्जन हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । यस्तै उपमहानगरपालिकाले वडा नं २१ मा खुला काञ्जी हाउस निर्माण गरेर डेढ सयभन्दा बढी छाडा पशुचौपायालाई आश्रय दिइएको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरप्रमुख राणाले बताउनुभयो ।