बांकेको डुडुवा स्थित बालसुधार गृहमा झडप: १ जनाको मृत्यू, १० घाईते मध्य ४ जना गम्भिर

नेपालगञ्ज ५ असोज /  बाँकेको नेपालगञ्जसगै जोडिएको डुडुवा गाउँपालिका वडानम्बर ६ असमानपुर स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको बांके प्रहरीले जानकारी दिएको छ ।

बाल सुधार गृहमा रहेका दुई पक्ष बीच झडप हुँदा घाइते भएकाहरु मध्ये २१ वर्षीय सुलभ केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिनुभएको छ ।

घटनामा घाइते भएका मध्य १० जनाको उपचार जारी रहेको र त्यस मध्य  ४ जनाको अवस्था गम्भीर रहेको बांके प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो। घाइतेहरुको नेपालगञ्ज स्थित भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बालसुधार गृहमा रहेका दुबै पक्षको तर्फबाट तोडफोड र आगजनीका घटना समेत भएको घटनास्थलमा रहेको बांके प्रहरीको टिमले जानकारी दिएको छ । प्रहरीले सुधार गृहमा तोडफोड र झडपमा संलग्न मध्य २५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बांकेको उक्त बाल सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका १५ देखि ३० वर्ष उमेर समूहका २ सय ५४ जना रहेका छन् ।
बाल सुधार गृहमा भएको समस्या समाधानको लागी बांके प्रहरीले सरोकारवालाहरुसंग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिनुभएको छ।

बारम्बार झडप हुने गरेको उक्त बालसुधार गृहमा ब्यवस्थापकिय पक्षलाई सुधार तथा नियमन गर्ने तर्फ ध्यानदिनुपर्ने बारम्बार आवाज उठदै आएपनि त्यस तर्फ सरोकारवालाहरुको ध्यान नगएका कारण घटनाहरु दोहरिने गरेको बताइएको छ ।