आज माघ १३ बाट नारायणगढ–मुग्लिक सडक बिहान १० बजेबाट दिउँसो ४ बजे सम्म सवारी आवागमन बन्द


१३ माघ,चितवन/   राती ६ घण्टा बन्द गरेर भित्तो काट्ने काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड आज माघ १३ गतेबाट दिउँसो बन्द गरिने भएको छ।
रातीको काम प्रभावकारी नभएकाले दिउँसो बन्द गरेर निर्माणलाई तीब्रता दिन लागिएको बताइएको छ।  माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गर्ने जिल्ला प्रशासन कार्यालय चितवनमा सरोकारवाला बीच भएको छलफलले निर्णय गरेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले राती सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेको जानकारी आएपछि पुनः दिउँसो नै सवारी रोकेर काम गर्न लागिएको हो । उक्त सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ। हालसम्म उक्त सडक खण्डको ७२ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ। कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ। काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ।

पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए। हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भई १४ दशमलव सात किमी सडक कालोपत्र भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।