शान्त र सुन्दर शहर नेपालगञ्जका लागी मंसिर १ गते देखि “नो हर्न” अभियान

Photo: File from Hamrosamrachana.com

३० कार्तिक,नेपालगञ्ज/ बतावरण तथा ट्राफिक ब्यवस्थामा अस्तब्यस्थ रुपमै सञ्चालन रहदै आएको नेपालगञ्ज उप–महानगरपालीकामा यही मंसिर १ गते देखी उप–महानगर भित्र ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले  “नो हर्न” अभियान सञ्चालन गर्ने जनाएको छ ।

नेपालगञ्ज उप–महानगर भित्र  “नो हर्न” अभियान सफल पार्न मंसिर महिना भरी व्यापक प्रचार/प्रसार गरि बिभिन्न जन-चेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभएको छ ।

नेपालगञ्जमा ध्वनी प्रदूषण मुक्त शहरका रूपमा विकास गर्न यातायातका साधन प्रयोग गर्ने र गराउने सबैको सहयोगको खाँचो पर्ने हुँदा यस अभियानमा साथ दिन ट्राफिक प्रहरीले सबैमा अपिल गरेको छ ।
बढ्दो सवारी साधनको चाप र धार्मिक स्थलमा बज्ने लाउडस्पिकरका कारण नेपालगञ्जमा ध्वनि प्रदूषण अत्याधिक मात्रामा बढेर सर्वसाधारणमा प्रतिकूल असर पारेकोले यो अभियान सञ्चाल गर्न लागेको प्रहरीको भनाई रहेको छ ।

“नो हर्न” अभियान सफल पार्न नेपालगञ्ज उप–महानगर, नेपालगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीसंग गरिएको छलफलमा सहयोग गर्ने प्रतिबद्धता आएकोले अभियान सफल हुने प्रहरी निरीक्षक रोकायले बताउनु भएको छ ।

शान्त र सुन्दर शहरको परिकल्पनामा बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । यसलाई नियन्त्रण गर्न नो हर्न अभियान सफल पार्नुपर्ने र त्यसका लागी जनचेतना फैलाउन बिभिन्न स्थानमा जानकारी र सुचनामुलक साईन बोर्डहरू राख्ने, सञ्चार माध्यमहरूबाट व्यापक प्रचार गर्ने जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिईएको प्रहरीले बताएको छ ।

मानव स्वास्थ्यका लागी ध्वनि प्रदूषण ७० डेसिबल भन्दा बढी हुन नहुने भएपनी नेपालगञ्जमा ८० डेसिबल भन्दा माथी रहेको जानकारहरुले बताउंदै आएका छन ।

यस अघि नेपालगञ्जमा ट्राफिक ब्यवस्थापन सुधार गर्ने भन्दै सुर्खेतरोडमा सनकका भरमा डिभाईडरहरु सडकको बिच भागमा थुपार्ने काममा गरिएको थियो । कोहलपुरमा सडकका डिभाईडर ब्यवस्थित भएपनी नेपालगञ्ज उपमहानगरमा भने उप–नगरपालीकाले ट्राफिकलाई र ट्राफिकले उप–महानगरको निर्णय बमोजिम डिभाइडर राखेको बताउदै आएका थिए ।

जनमुखि भनीएका कार्यक्रम पनी मनपरि र जबरजस्ती नियम बनाएर लादन खोज्दा सफल नहुने गरेको नेपालगञ्जमा स्थानियबासीको सहभागीतामा मात्र कार्यक्रम सफल हुने भएकोले सम्वन्धीत निकायलहरुले पनी त्यस तर्फ ध्यान पु–याएर कार्यक्रम सफल पार्न सकिन्छ ।

नेपालगञ्जमा ठुला माल बहाक सवारी साधनहरु मनपरी गुडर ट्राफिक ब्यवस्थापनमा अस्तब्यस्त हुने भएकाले त्यस्ता सवारी साधनहरुलाई सांझ र बिहानको निश्चित समयमा मात्र बजार क्षेत्रमा प्रबेश गर्न सम्वन्धीत पक्षसंग छलफल गरेर नियम बनाउनुपर्ने देखिन्छ ।