लोक सेवा आयोगले एकै साथ नयां ९ हजार कर्मचारीका लागि विज्ञापन सार्वजनिक (सूचनाको लिंक सहित)

१५ जेष्ठ,काठमाडौँ/ लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएकोको जानकारी दिनुभएको छ ।

सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो ।सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन गरेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्था अनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको उहौले बताउनु भयो ।
कुन स्थानीय तहलाई कुन पद कर्मचारी आवश्यक हुन्छ । सोहीअनुसार स्थानीय तहगत रुपमा विज्ञापन गरिएको, सुवेदीले बताउनु भयो । आयोगले ४ देखि ६ तहसम्म खुला प्रतिस्पर्धा र ९ तहसम्म बढुवाका लागि विज्ञापन गरेकको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट संकलन गरेपछि आयोगले विज्ञापन गरेकोको हो । सुबेदीका अनुसार ३ देखि ६ महिनासम्ममा कर्मचारीलाई छनोट गरेर स्थानीय तहमा पठाइने छ । विज्ञापनबाट कर्मचारीको छनोट गरिसकेपछि स्थानीय तहलाई नै नियुक्तिका लागि सिफारिस गरेका कर्मचारीलाई सिधै सम्बन्धित स्थानीय तहले नियुक्तिपत्र दिने छन् ।

सरकारले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । दरबन्दी अनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन् ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को व्यवस्था बमोजिम कार्यरत रहेका करिब ७ हजार ६५० कर्मचारीसमेत समायोजन भएका हुन् । आयोगले ९ हजार कर्मचारीको पदपूर्ति गरेपनि अझै ७ हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएका छन् ।

यसैगरी संघमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो । अझै संघमा ८ हजार ४४९ र प्रदेशमा ८ हजार ४७६ कर्मचारी अपुग छन् । रासस

लोक सेवा आयोग विज्ञापन