गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

११ असार, जाजरकोट / अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ । ११ घन्टाको यात्रा गरेर सदरमुकामबाट गएको सेनाको टोलीले मंगलबार साँझ ७ बजेतिर बम डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सेनाले एउटा सकेट बम र अर्को जिआइपाइप र स्टीलको वट्टालाई नियन्त्रणमा लिएर हटाएको हो ।

गएराति करिब १२ बजेतिर राखिएको उक्त बम डिस्पोजको लागि नेपाली सेनाको एक टोली मंगलवार विहान ८ वजे खलंगाबाट वारेकोटतर्फ गएको थियो । सेनाको ज्वाला दल गणका सहसेनानी जयराम घिसिङको नेतृत्वमा गएको टोलीले बम डिस्पोज गरेको हो । सेनाको टोली वारेकोट नपुगेसम्म इलाका प्रहरी कार्यालय रामीडाडाका प्रहरीहरुले बम राखिएको क्षेत्रमा सुरक्षा दिएका थिए । वम राखेको कुरा प्रहरी र स्थानीयले विहान ६ बजे मात्र थाहा पाएका थिए ।

गाउँपालिकाका अध्यक्ष शाहको कार्यकक्ष प्रवेश गर्ने ढोकामा बम राखेका कारण मंगलबार गाउँपालिकाको काम पुरै ठप्प रह्यो । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।