स्वास्थ्य मन्त्रालयको चरम लापरबाही : पश्चिम नेपालको एकमात्र हेमो डायलाइसिस सेवा बन्द

५ मंसिर, कैलाली / सात नम्बर प्रदेशमै एकमात्र सेती अञ्चल अस्पतालमा मिर्गौला रोगीहरुका लागि उपलब्ध हेमो डायलाइसिस सेवा बन्द भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कपील गौतमले अस्पतालमा रहेका ४ वटा हेमो डायलाईसिस मेशिन मध्ये ३ वटा विगि्एकाले नियमित रुपमा मृर्गौलाको हेमो डायलाइसिस सेवा लिइरहेका विरामीहरुलाई सेवा दिन असमर्थ रहेकोले आजै बाट हेमो डायलाईसिस सेवा वन्द गरिएको जानकारी दिए ।

उनले आपतकालिन अवस्थामा आउने विरामीहरुका लागि एउटा मेशिन चालु अवस्थामा रहेको बताए । डा. गौतमले अस्पतालमा रहेकेा २ वटा चाइनिज मेशिन र एउटा जर्मनीमा बनेको मेशिन विगि्एको बताउँदै त्यसबारे जानकारी मन्त्रालयमा गराए पनि अहिलेसम्म मर्मतका लागि कोही पनि नआएकोले बाध्य भएर सेवा बन्द गर्नु परेको बताए ।

उनले मेशिन विगि्एकोबारे मन्त्रालयलाई गत कार्तिक २७ गते नै पत्राचार गरिएको बताए । सेवा वन्द भएपछि यहाँबाट सेवा लिइरहेका विरामीहरुलाई समस्या भएको छ । अव उनीहरुले उक्त सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता छ ।

एक वर्ष अघि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर बाट २ वटा जर्मनी र स्वास्थ्य सेवा विभागबाट २ वटा चाइनिज मेशिन ल्याएर अस्पतालले सेवा शुरु गरेको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले गत वर्ष असोज १८ गते उक्त सेवाको शुभारम्भ गरेका थिए । तर अस्पतालमा दक्ष कामदार नभएका कारण कात्तिक ३ गतेबाट मात्रै मिर्गौला रोगीहरुलाई सेवा दिन थालेको थियो ।

अस्पतालमा अहिले २८ जना मिर्गौलाका विरामीहरुले हेमोडायलाइसिस सेवा लिइरहेको अस्पतालले जानकारी दिएको छ । जसमा हप्तामा दुईपटक हेमोडायलाइसिस लिने विरामी २१ जना र साप्ताहित हेमोडायलाईसिस लिने ७ जना रहेका छन् ।