३ दिन नेपाल–भारत सिमा नाका बन्द

१८ मंसिर,नेपालगञ्ज/   नेपाल र भारत संग सिमा जोडीएका सबै नाकाहरु मंसिर १९ गते देखी २१ सांझ सम्म ३ दिन सिमा नाका पूरै बन्द गर्ने सरकरले घोषणा गरेको छ । 

स्थानिय जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा सम्बन्धीत समकक्षी अधिकारीहरुसंग समन्वय गरेर सिमा सुरक्षा ब्यवस्थितका लागी गर्न सिमा नाका बन्द गर्न मातहतलाई निर्देशन दिइसकेको गृह स्रोतले बताएको छ ।

निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको हो।

नेपाल भारतका सुरक्षकर्मिहरु कञ्चनपुरको बेलौरी सिमा क्षेत्रमा सयुक्त सुरक्षा गस्ती गदै

सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल र जनपद प्रहरीको संयुक्त सीमा गस्ती बढाउन समेत निर्देशन दिइएको अधिकारीले बताएका छन। सीमा नाकाबाट भारतबाट आएर बम बनाउने सामग्री सहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो।

निर्वाचनको समयमा बढन सक्ने  आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताउनु भयो।

सेनाको निगरानी, भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई दुवैतर्फ अधिकतम चेकजाँच, शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ र सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् गृह स्रोतले बताएको छ।

सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरि तालिमप्राप्त कुकुर,सीसीटीभी मार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए। 

नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन्। निर्वाचनका लागि सबै खाले संयन्त्र चुस्त बनाउने क्रममा सीमा नाकालाई पनि ध्यान दिएर समकक्षीहरुसंगको समन्वयमा सिमा नाकामा कडाई पारिरएको हो ।