संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन: विकास र समृद्धिको यात्रामा अघि बढ्न सबैलाई अपिल

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै । साथमा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख कृष्णबहादुर महरा लगायत । तस्बिरः रत्न सेष्ठ,/रासस

१५ चैत्र,काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार पहिलो पटक सम्बोधन गर्दै मुलुक अब  विकास र समृद्धिको यात्रामा अघि बढ्न सबैलाईअपिल गर्नुभएको छ ।

सदनमा सम्बोधन गर्नेक्रममा राष्ट्रपति भण्डारीले “देशको जीर्ण आर्थिक सामाजिक परिवेशले हामीलाई अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न निर्देशित गरेको र सबै तहको जनप्रतिनिधिहरु आ–आफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ । निष्ठापूर्वक कर्तव्य पालना हुनेछ भन्ने विश्वास लिएको छु ।”  

तीनै तहको चुनाव सम्पन्न भएर देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै राष्ट्रपतिले राजनीतिकमात्र होइन अब आर्थिक समृद्धि र विकासमा पनि ठूला उपलब्धी हासिल गर्न सहजता भएको बताउनु भयो ।

राजनीतिक मतभेदहरुका बीच पनि संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचनबाट जनप्रतिनिधिहरु छानिएको उल्लेख गर्दै राष्ट्रपतिले संसदमा आम नेपाली जनताको विश्वास प्रतिबिम्बित भएकोलेर राष्ट्र जननिर्वाचित प्रतिनिधिहरुको निकायबाट शान्ति र विकास तिर अगाडि बढेको बताउनु भयो ।

नेपालको संसद विविधता बीचको एकताको उदाहरण रहेको बताउँदै राष्ट्रपतिले हिजोसम्म पछाडि परेका समूदायको उपस्थिति उल्लेखनीय रहेको उल्ल्ेख गर्दै विगतमा शासकीय र व्यवस्थापकीय कमजोरीले नेपाल कम विकसित राष्ट्र भएकोमा अब तीब्र आर्थिक विकासको गतिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपतिले नेपालको विकास र समृद्धिका लागि छिमेकी राष्ट्रहरुसँगको सहकार्यमा मित्रताको हात फैलाउँदै हाम्रो विकासका आकांक्षा पूरा गर्न आपसि समन्वय गर्नुपर्ने समेत सम्बोधनको क्रममा बताउनु भएको छ ।

संघीय संसद भवनमा राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गर्नुभएको थियो ।