पश्चिम रुकुमका दुई मतदान केन्द्रमा मंसिर १५ गते मतदान-निर्वाचन आयोग

१२ मंसिर, काठमाडौं/ आइतबार भएको पहिलो चरणको निर्वाचनमा मतदान रद्द भएका पश्चिम रुकुमका दुई केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले पश्चिम रुकुमको बाफीकोट ५ स्थित रत्न मावि काँडा मतदान केन्द्र ‘क’ र आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना केन्द्र ‘ख’मा मंसिर १५ गते शुक्रबार पुनः मतदान हुन लागेको हो । 

रत्न मावि काँडामा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र राष्ट्रिय मावि गत्तसैनामा समानुपातिक प्रणालीतर्फको मतदान हुन लागेको हो ।

आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्र बाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको छ ।

आयोगले रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधि समेतको रोहवरमा खोली ती म तपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको छ ।